श्रम ऐन २०७४ ले “श्रमिक आपूर्तिकर्ता” को ऐतिहासिक व्यवस्था गरे संगै सिङ्गो आपूर्तिकर्ता व्यवसायीहरुमा नयाँ तरङ्ग सृजना भयो । अब यो क्षेत्रले नयाँ गती र उचाई हासिल गर्छ भन्नेमा आम चासो रहन थाल्यो । तर श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ का कतिपय व्यवस्थाहरु श्रमिक आपूर्तिकर्ता मैत्री देखिएनन् । कतिपय व्यवस्था नेपालको संविधान २०७२ संग बाजिएको पो हो कि भन्ने समेत अडकल गरियो । यी यावत कुराहरुको विश्लेषण पश्चात् यो क्षेत्रलाई व्यवस्थित, पारदर्शी एवम् मर्यादित बनाई देश विकाशको यात्रामा सहभागी गराउनुपर्र्छ भनी “व्यवस्थित श्रम बजार–समृद्धिको आधार” भन्ने मूल नाराका साथ सयौँ श्रमिक आपूर्तिकर्ता व्यवसायीहरुको स्वतः स्र्फूत सहभागीतामा २०७४ साल पौष ९ गते जी.प्र.का. काठमाण्डौँमा संस्था दर्ता ऐन २०३४ अनुसार “नेपाल श्रमिक आपूर्तिकर्ता संघ” “Outsourcing Association of Nepal” को विधिवत दर्ता हुन पुग्यो । तत् पश्चात् यसले छोटै समयमा उद्योग वाणिज्य महासंघ तथा उद्योग परिसंघ जस्ता रोजगारदाताको गरिमामय छाता संङ्गठनको सदश्यता समेत हासिल गर्न सक्यो । संघका संस्थापक अध्यक्ष श्री रामेश्वर शाहज्यू लगायत कार्य समितिमा रहनु भएका अन्य पदाधिकारी र सदश्यज्यूहरुको अहोरात्रको अथक प्रयास र त्यागले आज यो संस्था श्रमिक आपूर्तिकर्ता व्यवसायीहरुको आशा र भरोशाको केन्द विन्दुको रुपमा स्थापित हुन सफल भएको छ ।

आज यस संघको प्रथम तथा ऐतिहासिक वार्षिक साधारण सभा काठमाण्डौँ जिल्लाको पुरानो वानेश्वर स्थित सिद्धार्थ कटेजमा सम्पन्न भएको छ । यसले आफ्नो उदेश्य अनुसारको संस्थागत एवम् प्रकृयागत निर्णय लिनुको साथै श्रमिक आपूर्तिकर्ताका सामु देखापरिरहेका महत्वपूर्ण कानुनी एवम् व्यवहारिक समस्याहरुका बारेमा समेत धनिभूत छलफल भई सर्वसम्मतीबाट महत्वपूर्ण निर्णयहरु भएका छन् । मूलतः हालसम्म नभएको अत्याधिक मात्राको धरौटी राख्नु पर्ने व्यवस्था, एउटा श्रमिक आपूर्तिकर्ता कम्पनीले बढीमा दुई वटा मात्र काम गर्न पाउने व्यवस्था लगायत अन्यायपूर्ण कामको सूची प्रकाशित गर्ने सरकारी तयारीको सन्दर्भ लगायतका कुराहरुको आम व्यवसायीहरुको वृहत्तर हित हुने तर्फ सम्बद्ध सबै पक्षको सहयोग प्राप्त गरी प्रचलित कानुन र नेपालको संविधान को विपरित हुने कुराहरुमा संघले अटल अडान लिई अगाडी बढ्ने कुरालाई वार्षिक साधारण सभाले अनुमोदन समेत गरेको छ ।

संक्रमणिय परिस्थितिका वावजुद छोटै समयमा श्रमिक आपूर्तिकर्ताहरुको आवाजलाई बुलन्द बनाई श्रम बजारको एउटा अग्रणी अङ्गको रुपमा “नेपाल श्रमिक आपूर्तिकर्ता संघ” लाई पुर्याएकोमा संघका सम्पूर्ण तदर्थ समितिका सदश्यज्यूहरुलार्ई समेत सभाले धन्यवाद प्रदान गरेको छ ।

श्रमिकहरु श्रमिक आपूर्तिकर्ता व्यवसायका अभिन्न अङ्गहरु भएकाले उनीहरुले कानुनतः पाउने तलब लगायत सेवा सुविधाहरु प्रति नेपाल श्रमिक आपूर्तिकर्ता संघ सदा सकारात्मक रहेको कुरा प्रति वार्षिक साधारण सभाले खुसी व्यक्त गरेको छ ।

यस क्षेत्रभित्र जकडिएका चुनौतीहरुलाई समाधान गरी श्रमिक आपूर्तिकर्ताको क्षेत्रलाई अझ सम्मानित एवम् पारदर्शि बनाउन पुनः एक कार्यकालको लागि वर्तमान अध्यक्ष श्री रामेश्वर शाहज्यू लाई नै अध्यक्षताको जिम्मेवारी दिने गरी सर्वसम्मतीबाट निर्वाचित गरियो साथै मौजुदा कार्यसमितिमा केही अग्रणी महिला व्यवसायीहरु तथा केही वरिष्ठ व्यवसायीहरुलाई सदश्यको रुपमा थप गरी उक्त कार्यसमितिलाई नै पुनः एक कार्यकालका लागि निर्वाचित गरी यस संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
धन्यवाद ।

भरत प्रसाद संग्रौला
महासचिव, नेपाल श्रमिक आपूर्तिकर्ता संघ
३० भाद्र, २०७५, काठमाण्डौँ ।